एनपीएल २: चितवन राइनोजले कर्णाली याक्सलाई पराजित गर्दै विजयी सुरुवात
काठमाडौँ, २ मंसिर। रबि बोपाराको अर्धशतक र सैफ अली जैबको आक्रामक ब्याटिङको सहयोगमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ।
कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्दै जित हात पारेको हो। चितवनका लागि बोपाराले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाए। ओपनर दीपक बोहराले ४२ रन योगदान दिए भने सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्का मद्दतमा ३८ रन जोडे।
बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिएका थिए भने मार्क वाट, युनिश सिंह र युवराज खत्रीले समान एक/एक विकेट लिए।
चितवनले एनपीएलमा पहिलो पटक कर्णालीलाई पराजित गरेको हो। पहिलो संस्करणमा कर्णालीले दुवै खेलमा चितवनलाई हराएको थियो—लिग चरणमा ५ विकेटले र एलिमिनेटरमा २१ रनले।