नेत्रहीन महिला टी–२० विश्वकप फाइनल : नेपालले भारतलाई ११५ रनको लक्ष्य दियो
कोलम्बो – नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा नेपालले भारतलाई ११५ रनको लक्ष्य दिएको छ। श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा भारतले टस जितेर फिल्ड रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर पूरा गर्दै पाँच विकेट गुमाएर ११४ रन बनायो।
नेपालका लागि शान्ता घिमिरे उत्कृष्ट प्रदर्शन गर्दै नटआउट ३३ रन बनाइन्। बिन्दा राईले २६ रनको योगदान दिइन्। अन्य खेलाडी दोहोरो अंकमा पुग्न नसक्दा रन गति मध्यम रह्यो।
अब केहीबेरमा भारतले लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ।
दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको थियो। पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गर्दै भारत उपाधि प्रतिस्पर्धामा पुगेको हो। यो पहिलो पटक भारत र श्रीलंकाको सह–आयोजनामा नेत्रहीन महिला टी–२० विश्वकप भइरहेको छ।