नेपालको ठूलो जित : सामोआलाई १२४ रनले हराउँदै छनोटको उपाधि
काठमाडौं, — नेपालले अपराजित यात्रा गर्दै आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ। शुक्रबार भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो।
नेपालले समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेल जित्दै ऐतिहासिक प्रदर्शन गरेको हो। यो जितसँगै नेपालले ११ वर्षपछि आईसीसीको प्रतियोगितामा उपाधि हात पारेको छ।
नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन बनाएको थियो। यस विशाल लक्ष्य पछ्याउने क्रममा सामोआ ७ विकेट गुमाएर ८७ रनमै सीमित भयो।
नेपालका बलरहरूमध्ये ललित राजवंशीले सबैभन्दा प्रभावशाली प्रदर्शन गरे, उनले ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले १–१ विकेट लिए।
नेपालको सुरुआत उत्कृष्ट रह्यो। ओपनर आसिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ६९ रन बनाए। त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले २ चौका र ४ छक्कासहित ५३ रन जोडे।
लोकेश बमले मात्र ११ बलमा ३९ रन बनाउँदै इनिङ्सको तिव्र समाप्ति गरे। रोहित पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले १७ रन बनाए।
नेपालले सन् २०१४ मा डिभिजन ४ को उपाधि जितेपछि आईसीसी प्रतियोगितामा कुनै पनि उपाधि जित्न सकेको थिएन। ११ वर्षपछि आएको यस उपाधिले नेपाली क्रिकेटको मनोबल उच्च बनाएको छ।
यसअघि सन् २०२३ मा नेपाल विश्वकप छनोटको फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो।
विश्वकपको यात्र
समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गर्यो। सुपर सिक्समा पुगेपछि नेपालले युएई, कतार र ओमानमाथि जित दर्ता गर्दै तीनै खेल जित्यो। युएई र ओमान पनि विश्वकपका लागि छनोट भएका छन्।
अब नेपाल, यूएई र ओमानले सन् २०२६ मा भारत र श्रीलंकाको संयुक्त आयोजना हुने टी-२० विश्वकप खेल्नेछन्। नेपालका लागि यो अर्को ठूलो उपलब्धि हो, जुन नेपाली क्रिकेटको भविष्यका लागि उत्साहजनक छ।
अब ध्यान विश्वकपको तयारीमा।