न्युजिल्यान्डमाथि अस्ट्रेलियाको शानदार जित
अस्ट्रेलियाले न्युजिल्यान्डसँगको पहिलो टी-२० शृंखलामा शानदार जित हासिल गरेको छ । अस्ट्रेलियाले न्युजिल्यान्डलाई ६ विकेटले हराएको हो ।
न्युजिल्यान्डले दिएको १८२ रनको लक्ष्य अस्ट्रेलियाले ३ ओभर ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो । कप्तान मिचेल मार्शले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा सर्वाधिक ८५ रन बनाए ।
त्यस्तै ट्राभिस हेडले ३१ तथा म्याथ्यु शर्टले २९ रन बनाए । टिम डेभिड २१ र मार्कस स्टोयनिस ४ रनमा अविजित रहे । एलेक्स केरी ७ रनमा आउट भए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो । टिम रोबिन्सनले अविजित शतकीय पारी खेले । उनले १०६ रन बनाएका थिए ।
६ रनमै ३ विकेट गुमेको अवस्थाबाट न्युजिल्यान्डका लागि रोबिन्सन र बेभोन ज्याकब्स मिलेर रनको साझेदारी गरेका थिए । अस्ट्रेलियाका बेन डारशुइसले २ विकेट लिँदा जोश हेजलवूड र म्याथ्यु शर्टले १-१ विकेट लिए ।