नेपाल टी-२० महिला सिरिजमा नेदरल्यान्ड्समाथि थाइल्यान्डको सहज जित
नेपाल टी-२० महिला अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेदरल्यान्ड्समाथि थाइल्यान्डले ८ विकेटको जित निकालेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले २ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्यो।
थाइल्यान्डका लागि नान्नापत कोन्चारोइनकाइले ५० बलमा ५ चौका प्रहार गर्दै नटआउट ५६ रन जोडिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ६ विकेटको क्षतिमा १२२ रन बनायो।
नेदरल्यान्ड्सका लागि कप्तान बाकेटे डी लिडेले ५२ रन जोडेकी थिइन्। बलिङमा थाइल्यान्डकी पुत्थावोङले २ विकेट लिइन्।
सिरिजको पहिलो खेलमा नेपालमाथि नेदरल्यान्ड्सले जित निकालेको थियो। सिरिजको तेस्रो खेलमा नेपाल र थाइल्यान्डबीच शनिबार प्रतिस्पर्धा हुनेछ।