लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले सुरुमा ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर सुरुमा फिल्ड रोजेपछि जनकपुरले पहिला ब्याटिङ गर्ने भएको हो।
प्रतियोगितामा लगातार तीन जित निकालेको जनकपुर र लगातार तीन हार खाएको लुम्बिनीको खेललाई रोचक रुपमा हेरिएको छ।
जनकपुर अनिल शाहको कप्तानीमा छ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्त्वमा मैदानमा हुनेछ।
पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णालीलाई आठआठ विकेटले हराएको जनकपुरले तेस्रो खेलमा पोखरालाई सात विकेटले हराएको हो। अपराजित जनकपुर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ।
यता तालिकाको पुछारमा रहेको लुम्बिनी भने पहिलो जितको खोजीमा छ। पहिलो खेलमा विराटनगरसँग एक बल बाँकी हुँदा दुई विकेटले पराजित भएको लुम्बिनी दोस्रो खेलमा पोखरासँग १० विकेटको पराकिलो अन्तरले पराजित भयो। तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले पराजित लुम्बिनी आज पहिलो जितको खोजीमा हुनेछ।