एनपिएलमा काठमाडौंसँग भिड्दै लुम्बिनी
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले बुधबार छैटौं खेल खेल्दैछ। त्रिवि मैदानमा दिउँसो १ बजे लुम्बिनी काठमाडौं गुर्खाजविरूद्ध खेल्दैछ।
१९३ रनको फराकिलो योगफल तयार गरेपनि पहिलो खेलमा हार ब्यहोरेको लुम्बिनीले त्यसपछि लगातार तीन खेलमा पराजित भएको थियो।
पाँचौं खेलमा चितवनलाई ३३ हराउँदै लुम्बिनीले प्लेअफ सम्भावनालाई जिवित राखेको थियो। सम्भवाना कायमै राख्न बुधबार काठमाडौंविरूद्ध लुम्बिनीलाई जित्नैपर्ने दबाब छ।
समान २/२ अंकसहित लुम्बिनी काठमाडौंभन्दा एक स्थान माथी पाँचौं नम्बरमा छ। यद्यपि काठमाडौंले तीन खेल मात्रै खेलेको छ। उसले आज चौथो खेल खेल्दैछ।
काठमाडौंले यसअघि कर्णाली याक्सलाई पराजित गर्दा सुदूरपश्चिम र चितवनसँग पराजित भएको थियो।
लुम्बिनीले बुधबारको खेलपछि लिग चरणको अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ। लुम्बिनीलाई अब आफ्नो खेलमा मात्रै होइन अरू टिमको नतिजाले पनि प्लेअफमा पुग्ने नपुग्ने निर्क्योल गर्छ।
त्यसकारण प्लेअफ सम्भावनालाई जिवित राख्न लुम्बिनीलाई र प्लेअफ सम्भावना बलियो बनाउन काठमाडौंका लागि आजको खेल महत्वपूर्ण छ।