जनकपुरलाई हराउँदै एनपीएलको फाइनलमा सुदूरपश्चिम
सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिम रोयल्स बुधबार खेलिएको पहिलो 'क्वालिफायर' खेलमा जनकपुर बोल्ट्सलाई आठ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
पहिलो क्वालिफायर खेलमा पराजित भएको जनकपुर बोल्ट्सले अब बिहीबार हुने दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सको सामना गर्नेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले १८.३ ओभरमा केवल दुई विकेट गुमाएर एक सय ४१ रन बनाउँदै विजयलक्ष्य पार गयो ।