प्ले अफ चरणमा पुग्न संघर्षरत कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रारम्भिक चरणको अन्तिम खेलमा सोमबार कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय दुई रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनाएको हो
प्ले अफ चरणमा पुग्न आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको खेलमा पनि कर्णाली याक्सका माथिल्लो क्रमका ब्याट्सम्यानहरूले गतिलो प्रदर्शन गर्न सकेनन् । टोलीको कुल स्कोर ५० रन पुग्नु अगावै कर्णाली याक्सले आफ्नो महत्त्वपूर्ण चार विकेट गुमाइसकेको थियो ।
कर्णाली याक्सका लागि छैटौँ नम्बरमा क्रिज समाल्न आएका जिसन मक्सुदले सर्वाधिक ३० रनको योगदान गरे । उनले ३५ बलको सामना गरी चार चौका पनि हिर्काए । टोलीका ओपनर ब्याट्सम्यान बाबर हायात भने नौ बलमा तीन चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए ।