प्रशिक्षकबिनै पेरिस ओलम्पिक प्रिन्सको प्रतिस्पर्धा
काठमाडौं । ओलम्पिक २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै ६ खेलका ७ जना खेलाडी सहभागी हुँदैछन् । फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेल्न छनोट भएका खेलाडीले आआफ्नै तरिकाले तयारी गरिरहेका छन् ।
पेरिस ओलम्पिकमा छनोट भएका अन्य खेलाडीले प्रशिक्षकसहित तयारी थाल्दा ब्याडमिन्टनका प्रिन्स दाहाल भने अपवाद बनेका छन् । ब्याडमिन्टनबाट पहिलोपल्ट ओलम्पिकमा सहभागी हुन लागेका प्रिन्सले प्रशिक्षकबिनै ओलम्पिकमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
नेपालको प्रतिनिधित्व गर्दै पेरिस ओलम्पिक–२०२४ मा भाग लिइरहँदा प्रिन्सको साथमा कुनै पनि नेपाली प्रशिक्षक रहने छैनन् । मैदानमा भिडिरहँदा उनी त्यहाँ एक्लो हुनेछन् । ओलम्पिकमा प्रिन्सका लागि छुट्याइएको प्रशिक्षक सिट ‘खाली’ हुनेछ ।
प्रिन्सले पेरिस ओलम्पिकका लागि प्रशिक्षक नपाउनुमा ब्याडमिन्टन संघ र ओलम्पिक कमिटी दुवै उत्तिकै जिम्मेवार छन् । संघले बेलैमा प्रशिक्षकको नाम पठाउन सकेन भने, ओलम्पिक कमिटीले समयमा लङ लिस्ट तयार गर्न सकेन ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार ब्याडमिन्टन संघ नवीकरण पनि भएको छैन । यद्यपि, पदाधिकारी भने संघ नवीकरण भइसकेको दाबी गर्दै आएका छन् ।
संघले ओलम्पिकमा प्रिन्स सहभागी हुने या नहुने भन्ने विषयमै अन्योल रहेकाले आफूहरुले बेलैमा प्रशिक्षकको नाम पठाउन नसकेको बताउँछन् ।
‘पहिले त प्रिन्स हुने नहुने फिक्स नभएको र संघलाई लङलिस्टमा प्रशिक्षकको नाम मार्चभित्रमा पठाइसक्नु पर्ने थाहा नभएपछि उसलाई ओलम्पिकमा प्रशिक्षक पठाउन समस्या भएको हो,’ संघका संयोजक रामजी बहादुर श्रेष्ठ भन्छन् ।