सिंहदरबारभित्रै असारे विकासको चटारो
काठमाडौं। वर्षायाम लागेपछि हतार–हतार विकासका काम गर्ने सरकारी प्रवृत्ति नौलो हैन । यो प्रवृत्ति हटाउन भन्दै संघीय सरकारको सचिवालयका रुपमा रहेको सिंहदरबारमा कयौं बैठक बस्छन्, योजनाहरू पनि बन्छन् । तर, असार लागेपछि सिंहदरबारभित्र नै असारे विकासले गति लिन्छ । यो वर्ष पनि त्यही दृश्य सिंहदरबारभित्र दोहारिएको छ ।
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसहित विभिन्न मन्त्रालयहरुले वर्षभरि नगरेका काम असार लागेपछि नै सिंहदरबारभित्र सुरु गरेका छन् ।
आर्थिक वर्षको अन्त्यमा एउटै योजनालाई टुक्रा(टुक्रा पारेर मन्त्री र कर्मचारीका चिनजानका फर्महरुसँग ‘कोटेसन’ मागेर यस्ता विकासे काम दिने गरिएको छ ।
अहिले सिंहदरबाभित्र असार लागेपछि कतै शौचालयहरुको मर्मत भइरहेका छन् भने भने कतै क्यान्टिन भवनहरु ‘रिनोभेट’ भइरहेका छन् । कतै फुटपाथमा पुराना टायल निकालेर नयाँ छाप्ने काम चलिरहेको छ भने कतै बगैंचा मर्मतको काम चलिरहेको छ ।