प्रधानमन्त्री दाहाल आज मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार दिउँसो भारतको मैत्रीपूर्ण मिन्त्रणामा नयाँ दिल्ली जानुहुने भएको छ ।
भारतीय समकक्षी नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार दिउँसो १ बजे नेपाल एयरलाइन्सबाट नयाँ दिल्ली जान लाग्नुभएको हो । मोदीलाई आइतबार साँझ सवाँ ७ बजे राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूले शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहालका साथमा कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पुत्री एवं स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल विष्णु गौतम लगायतको टोली भारत जाने भएको हो ।
शपथ ग्रहण समारोहपछि प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारत सरकारले शपथग्रहण समारोहमा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्स लगायतका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको हो ।
प्रधानमन्त्री दाहाल सोमबार दिउँसो स्वदेश फर्कने कार्यक्रम तय गरिएको छ ।