कोपा अमेरिकामा पानमासँग २-१ गोलले अमेरिका पराजित
काठमाडौं । कोपा अमेरिकामा पानमासँग अमेरिका पराजित भएको छ ।
शुक्रबार बिहान भएको खेलमा पनमासँग अमेरिका २-१ गोलले पराजित भएको हो । कोपा अमेरिका अन्तर्गत समूह 'सी'को खेलमा पानामाले अमेरिकालाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हाशिल गरेको हो ।
पानामाको जितमा सेसार ब्ल्याकम्यान र जोसे फजारडोले एक एक गोल गरेका थिए । त्यस्तै,अमेरिकाका लागि फोलारिन बालोगनले एक गोल गरेका हुन् ।
पानामाले १-० गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै जित हाशिल गरेको थियो । सोही खेलमा दुवै देशका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए ।
खेलको १८औं मिनेटमा अमेरिकाका टिमोथी विहले रातो कार्ड पाएका हुन् । खेलको ८८औं मिनेटमा पानामाका अडालबेर्टो कारसक्वेलाले रातो कार्ड पाएका थिए ।
पानामाको यो जितपछि समूह सी मा २ खेलमा ३ अंक हाशिल गरेको छ र तेस्रो स्थानमा रहेको हो । त्यस्तै, अमेरिकाको पनि २ खेलमा ३ अंक छ र दोस्रो स्थानमा रहेको हो ।
अब पानामाले आफ्नो समूह चरणको अन्तिम खेल आगामी जुलाई २ तारिखमा बोलिभियासँग खेल्ने भएको छ । अमेरिकाले भने सोही दिन उरुग्वेको सामना गर्ने भएको हो ।