आईसीसी टी-२० विश्वकप क्रिकेटमा युगान्डाविरूद्ध शुरूमा वेस्ट इन्डिजले ब्याटिङ गर्दै
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार बिहानको खेलमा वेस्ट इन्डिजले युगान्डाविरुद्ध शुरुमा ब्याटिङ गर्ने भएको छ।
प्रोभिडेन्स स्टेडियम, गुयानामा टस जितेर वेस्ट इन्डिजले युगान्डाविरुद्ध शुरुमा ब्याटिङ गर्ने निर्णय गरेको हो। विश्व विजेता वेस्ट इन्डिज युगान्डाका लागि महंगो हुने अनुमान गरिएको छ। तर पछिल्ला केही खेलमा एसोसिएट राष्ट्रले टेस्ट क्रिकेट खेल्ने राष्ट्रमाथि शानदार जित निकालेका हुन्।
समूह ‘सी’मा वेस्ट इन्डिज, युगान्डा, अफगानिस्तान, पपुवा न्युगिनी (पिएनजी) र न्युजिल्यान्ड रहेका छन्। आइतबार वेस्ट इन्डिज दोस्रो खेल खेल्ने भएको हो । युगान्डा तेस्रो खेल खेल्ने भएको छ । पहिलो खेलमा वेस्ट इन्डिजले पिएनजीलाई ५ विकेटले पराजित गरेको थियो।
पहिलो खेलमा अफगानिस्तानसँग १ सय २५ रनले पराजित भएको युगान्डाले दोस्रो खेलमा पिएनजीमाथि ३ विकेटको जित निकालेको छ। यो समूहमा दुवै खेलमा विजयी हुँदै अफगानिस्तान शीर्ष स्थानमा रहेको हो ।
एक खेल मात्र खेलेको वेस्ट इन्डिज भने तालिकाको दोस्रो स्थानमा रहेको छ।