मुस्लिम समुदायले आज विविध कार्यक्रम गरी बकर इद (इदुल जोहा) पर्व मनाउँदै
काठमाडौं । मुस्लिम धर्मावलम्बीले सोमबार विविध कार्यक्रम गरी बकर इद (इदुल जोहा) पर्व मनाउँदैछन् ।
बकर इद रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो पर्व हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले सोमबार बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको हो ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । कुर्बानीको मासु ३ भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफूले खानुपर्ने धार्मिक मान्यता रहेको हो ।
हिजरी संवत अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । मुस्लिम धर्मावलम्बीले सोमबारदेखि बुधबारसम्म ३ दिन यो पर्व मनाउने छन् । सोही पर्व मनाउने ३ नै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताउनुभयो ।
सोही अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा समेत दिएको छ ।