सरकारी अस्पतालको सेवा सुधार गरेर देखाउने स्वास्थ्यमन्त्री यादवको दावी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सबै सरकारी अस्पतालहरुको सेवामा सुधार ल्याउने दावी गर्नुभएको छ ।
बुधबार दिउँसो स्वास्थ्य सचिव डा.रोशन पोखरेलसहित वीर अस्पतालको सबै शाखाको अनुगमन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले दावीे गर्नुभएको हो । उहाँले आफूले वीर अस्पतालबाट सरकारी अस्पतालहरुको अनुगमनको काम शुरु गरेको उल्लेख गर्दै सबै अस्पतालहरुको अनुगमन गरी सुधार गर्ने दृढता व्यक्त गर्नुभएको छ ।
सोही क्रममा मन्त्री यादवले समयमै आफ्नो ड्युटीमा नआउने चिकित्सकहरुलाई तत्काल कारबाही गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । त्यस क्रममा उहाँले तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सोही अस्पतालबाट धेरै जनशक्ति हटाएको विषयमा चासो व्यक्त गर्दै त्यसको बारेमा पनि खोजी गर्ने बताउनुभएको छ ।
मन्त्री यादवले सेवाग्रहीलाई सहज सेवा उपलब्ध गराउन पनि वीर अस्पतालको व्यवस्थापनलाई सचेत गराउनुभयो । सोही अवसरमा उहाँलाई अस्पतालका उपकुलपति प्रा.डा भूपेन्द्रकुमार बस्नेत लगायतका पदाधिकारीहरुले अस्पतालको सेवाको अवस्था र त्यसका लागि प्रबन्ध गर्नुपर्ने व्यवस्थाका विषयमा जानकारी गराउनुभएको हो।