हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकताले आईपीएलको उपाधि जित्यो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि कोलकता नाइट राइडर्सले जितेको छ ।
आइताबार राति सम्पन्न भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकताले उपाधि जितेको हो । आईपीएलमा कोलकताको यो तेस्रो उपाधि हो । यसअघि कोलाकताले सन् २०१२ र २०१४ मा आईपीएलको उपाधि जितेको थियो ।
हैदराबादले दिए १ सय १४ रनको लक्ष्य कोलकताले १०.३ ओभरमा २ विकेट गुमाएर भेटाएको छ । कोलकताका लागि वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाएका थिए । २६ बल सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरेका हुन्।
त्यस्तै, रहमानउल्लाह गुरबाज ३९, सुनील नारायण ६ रन बनाउँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहेका छन्। हैदरावादका लागि प्याट कमिन्स र शाहबाज अहमदले एकरएक विकेट लिएका थिए ।
यसअघि चेपौक स्टेडियम, चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले १८.३ ओभरमा अलआउट हुँदै १ सय १३ रन बनाएको थियो । हैदरावादका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाएका हुन् । १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरेका थिए ।
त्यस्तै, एडेन मार्करामले २०, हेनरिक क्लासेन १६, नितिश कुमार रेड्डीले १३ रन बनाएका हुन् । अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।हैदरावादलाई सस्तैमा समेट्न कोलकताका आन्द्रे रसेलले ३, मिचेल स्टार्क तथा हर्षित राणाले २-२ विकेट लिएका थिए ।