कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा
काठमाडौं । दोहोरो नागरिकताको अनुसन्धानका लागि मंगलबार साँझ पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा राखेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेर बुधबार बिहान धनुषा पुर्याएपछि सिरोहियालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको हो । धनुषा जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको भन्दै उजुरी परेपछि प्रहरीले अनुसन्धानका लागि मंगलबार कान्तिपुरको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सिरोहियालाई पक्राउ गरेर वीपी राजमार्ग हुँदै बुधबार बिहान धनुषा पुर्याएको छ ।
कान्तिपुर कार्यालयमा पुगेर उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोलीले सिरोहियालाई पक्राउ गरेको थियो । सिरोहिया पक्राउ परेको विरोधमा बुधबार बिहानदेखि नै धनुषामा प्रदर्शन भइरहेको छ ।
अध्यक्ष सिरोहिया पक्राउ परेकोप्रति नेपाल पत्रकार महासंघ र मिडिया सम्वद्ध निकायले पनि विरोध गरेका हुन् ।