राष्ट्रिय सभाको बैठकबाट आज नीति तथा कार्यक्रम पारित गर्ने तयारी
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ ।
सोही बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार दिउँसो सवाँ १ बजे बस्ने भएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संसदको बैठक शुक्रबार बस्न लागेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध भएन कायम रहेको हो। कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सामेल रहेको भन्दै संसदीय समितिको गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।
संसदीय समिति गठन गर्न सहमति भएपनि समितिको कार्यादेशको विषयमा भने अझै सहमति हुन सकेको छैन । कार्यादेश बनाउन कार्यदल बनाए पनि पटक पटक भएका बैठक निष्कर्षमा पुग्न सकेको छैन ।
कार्यदलमा संसदीय छानबिन समितिले गृहमन्त्री लामिछानेको नाम तोकेर छानबिन गर्ने विषयमा कुरा नमिलेको हो । कांग्रेसले लामिछानेको नाम तोकेर छानबिन गर्नुपर्ने अडान लिएको छ ।
तर नेकपा एमाले र रास्वपा व्यक्तिको नाम तोकेर संसदीय छानबिन नहुने अडानमा रहेका हुन् ।