सहकारी ठगी प्रकरण: टीओआर टुंगो लगाउन कार्यदलको बैठक आज बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) को बारेमा छलफल गर्न कार्यदलको बैठक बिहीबार दिउँसो बस्ने भएको छ ।
सोही बैठक बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको कार्यदल सदस्य जीवन परियारले जानकारी दिनुभएको हो । सहकारी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्ष छानबिन समिति बनाउन सहमत भए पनि कार्यक्षेत्रको बारेमा टुंगो लाग्न सकेको छैन ।
विपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न रहेकाले नामै तोकेर समिति बनाउनु पर्ने अडान लिएको हो । तर सत्ता पक्ष कांग्रेसको मागमा सहमत नहुँदा समाधान निस्कन सकेको छैन ।
सत्ता पक्ष र विपक्षी दल आआफ्नै अडानमा रहँदा संसद बैठक निरन्तर अवरुद्ध हुँदै आएको हो । सहकारी ठगी प्रकरणमा समस्या समाधानका लागि संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन भएको छ ।
जसमा कांग्रेसबाट जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सदस्य रहेका हुन् । त्यस्तै, सोही बैठकमा कांग्रेसका तर्फबाट ज्ञानेन्द्र बहादुर कार्की पनि सहभागी हुँदै आउनुभएको छ ।