सहकारी प्रकरण: कार्यादेश टुंग्याउन आज प्रमुख दलका शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै
काठमाडौं । सहकारी संस्थाको रकम हिनामिनाको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन सोमबार बिहान शीर्ष नेताको बैठक बस्ने भएको छ।
आइतबार बिहान बस्ने तय भएको बैठक सोमबारलाई सारिएको हो। कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले कार्यदलमा भएका सहमति र टुंग्याउन बाँकी विषयमा छलफल गर्न सोमबार बिहान ९ बजे बालुवाटारमा बैठक बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता सहभागी हुने भएका छन्।
यसअघि गत शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको थियो। कांग्रेसका सहमहामन्त्री जीवन परियारले शीर्ष नेतासँग बसेर कार्यादेश टुङ्ग्याउन भएको समझदारी अनुरूप बैठक बस्न लागेको जानकारी दिनुभयो।
कांग्रेसले गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारीको नाम तोक्ने तथा नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको थियो। सत्तापक्षले नाम राख्न नहुने अडान लिएपछि संसदीय छानबिन समिति गठन प्रक्रिया अवरुद्ध भएको छ।