सहकारी ठगीविरूद्ध कांग्रेसले काठमाडौंमा आज बृहत प्रदर्शन गर्दै
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबार काठमाडौंमा बृहत प्रदर्शन गर्ने भएको छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले आएतबार दिउँसो २ बजे भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा गत बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकाविरुद्ध सडक आन्दोलनमा जाने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम कांग्रेसले प्रदर्शन सफल पार्न काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटा निर्वाचन क्षेत्रमा १५ जना केन्द्रीय प्रतिनिधि समेत खटाएको छ । कांग्रेसले आइतबार पहिलो चरणमा काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्न लागेको हो ।
गृहमन्त्री लामिछाने मुछिएको अर्बौं रुपैयाँ सहकारीको बचत दुरुपयोग प्रकरणमा छानबिन गर्न नमानेको निष्कर्षसहित कांग्रेस आन्दोलनमा होमिएको छ । आइतबारको प्रदर्शनमा कांग्रेसले गिरिबन्धु टी-स्टेटमा भएको नीतिगत भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने र सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा सरकारलाई खबरदारी गर्ने जनाएको हो ।
गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन माग गर्दै कांग्रेसले १ महिना भन्दा बढी समयदेखि सदन अवरुद्ध गरिरहेको छ । प्रदर्शनको पूर्वसन्ध्यामा भातृ संस्था नेपाल तरुण दलले काठमाडौंको प्रदर्शनी मार्गमा शनिबार साँझ रांके जुलुश निकालेको हो।