देशका ५ प्रदेशमा आज पनि मेघगर्जन/चट्यांगसहित मध्यम वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भू-भागमा 'रेमल' चक्रवातको सामान्य प्रभाव परेको छ।
मंगलबार बिहान कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायतका बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको हो। बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिकदेखि मौसम मुख्यतया सफा हुने भएको छ।
कोशी, बागमती, गण्डकी, मधेश र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको हो। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
मंगलबार राति भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली हुने भएको हो । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको छ। त्यस्तै, कोशी प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको हो ।
कोशी प्रदेशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।