बागमतीसहित ५ प्रदेशमा आज मेघगर्जन/चट्यांग-भारी वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । नेपालमा हाल स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा 'रेमल' चक्रवातको आंशिक प्रभाव परेको छ।
सोमबार बिहान कोशी प्रदेशमा साधारणतया बदली रहेको हो । त्यस्तै, देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको हो।
कोशी प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । त्यस्तै, बागमती प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
सोमबार दिउँसो भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली हुने भएको छ । बाँकी भू-भागमा भने मौसम आंशिक बदली हुने भएको हो ।
त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको हो।
सोमबार राति भने कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली हुने भएको छ । मधेश, बागमती, गण्डकी प्रदेश र बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा हुने भएको छ।
कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको हो । त्यस्तै, मधेश प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै, कोशी प्रदेशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।