प्रतिनिधि सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान बस्ने भएको छ ।
सोही बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार बिहान ११ बजे बस्ने भएको हो । प्रतिनिधि सभाको शुक्रबारको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको छ ।
शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको हो । यहि जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। उक्त नीति तथा कार्यक्रममा हालसम्म छलफल हुन सकेको छैन।
शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ । त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिने भएको हो ।
सम्भावित कार्यसूची अनुसार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री दाहालले जवाफ दिनुहुने र त्यसपछि पारित गर्ने सभामुख देवराज घिमिरेको तयारी रहेको संसद सचिवालयले जनाएको छ।