सहकारी प्रकरण: बालुवाटारमा बसेको बैठकमा पनि सहमति जुटेन, भोलि बिहान पुन:शीर्ष नेताबीच छलफल हुने
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) को बारेमा छलफल गर्न आइतबार बिहान शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।
कार्यदलले जुटाएको सहमतिको बारेमा छलफल गर्न आइतबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुने कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभएको हो।
टीओआरको बारेमा छलफल गर्न कार्यदलका सदस्यसहित बालुवाटारमा शनिबार साँझ भएको छलफल टुंगोमा पुग्न नसकेको पनि उहाँले बताउनुभयो । शनिबारको बैठकमा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएनन् । सभापति देउवा बिरामी हुनुभएको अध्यक्ष ओलीले भने उपाध्यक्ष विष्णु पौडेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगायतलाई बैठकमा पठाउनुभएको हो ।
बैठकमा प्रधानमन्त्री दाहालसहित कार्यदलका कानूनमन्त्री गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, सांसद ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल सहभागी भएका थिए । त्यस्तै, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, र नेता कृष्ण सिटौला पनि बैठकमा सहभागी भएको कांग्रेस सहमहामन्त्री परियारले जानकारी दिनुभयो ।
यसअघि शनिबार नै बसेको कार्यदलको बैठकले सहकारीका विषयमा छानबिन गर्ने गरी कार्यादेश (टीओआर) बनाउने सहमति गरेता पनि अन्तिम रुप शीर्ष नेताले दिने भनिएको थियो ।