सहकारी प्रकरण : छानबिन संसदीय समितिको संयोजकमा एमालेका सांसद थापा
काठमाडौं । सहकारीको बचत रकम अपचलन सम्बन्धी छानबिन गर्न मंगलबार साँझ नेकपा एमालेका सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको छ ।
सांसद थापा संयोजक रहेको सोही समितिमा विभिन्न दलका ७ जना सदस्य रहेका हुन् । उहाँले समितिको संयोजक आफूलाई तोकिएको जानकारी गराउनुभएको छ । उक्त समितिको नाम ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ राखिएको हो ।
सोही समितिमा एमालेकी सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।