सहकारी पीडित बचतकर्ताले आजदेखि फेरि तेस्रो चरणको आन्दोलन शुरू गर्दै
काठमाडौं । सहकारी पीडित बचतकर्ताहरूले शुक्रबारदेखि फेरि तेस्रो चरणको आन्दोलन शुरु गर्न लागेका छन् ।
यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरूले तेस्रो चरणको आन्दोलन गर्न लागेका हुन् । महासंघका अध्यक्ष कुशलव केसीले शुक्रबार ११ बजे माइतीघर मण्डलाबाट आन्दोलन शुरु गर्नै जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो,-‘माइतीघर मण्डलाबाट हामी आन्दोलन शुरु गर्छौं, र्याली गछौं, र्यालीपछि कोणसभा गरेर हामी रिले अनशन शुरु गछौं।' अध्यक्ष केसी यसअघि पनि करिब ३ हप्ता आमरण अनशनमा बसेपछि स्वास्थ्य अवस्था नाजुक भइरहेको समयमा सरकारले सम्झौता गरेको थियो ।
सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरी सशक्त रुपमा अगाडि बढ्ने उहाँले बताउनुभयो । नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक शुरु हुने अध्यक्ष केसीले जानकारी दिनुभएको छ ।