कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बुधबार बस्ने भएको छ ।
सोही बैठक बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको हो । समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल गरी धारणा बनाउन संयुक्त बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।
गत फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा भएको महासमिति बैठकपछि पहिलो पटक संयुक्त बैठक बस्न लागेको हो । सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।