काठमाडौं उपत्यकाका १५ वटै क्षेत्रमा सरकारविरूद्ध आन्दोलन गर्नका लागि कांग्रेसका प्रतिनिधि खटिए
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबारका लागि घोषणा गरेको प्रदर्शनका लागि १५ जना प्रतिनिधि खटाएको छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बारेमा छानबिनका लागि संसदीय समिति माग गर्दै आएको कांग्रेसले बिहीबार आइतबार प्रदर्शन गर्नका लागि १५ जना प्रतिनिधि खटाएको हो ।
संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरिरहेको कांग्रेसले आइतबार भृकुटीमण्डपमा हुने प्रदर्शन सफल पार्न काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिहरु खटाएको छ ।
कांग्रेसले काठमाडौं-१ मा केन्द्रीय सदस्य अब्दुल सतार, २ मा सीता थपलिया (उर्मिला), ३ मा रंगमति शाही, ४ मा कुन्दन काफ्ले, ५ मा नैनसिंह महर र ६ मा गुरु बराललाई खटाएको हो।
त्यस्तै, काठमाडौं-७ मा आङगेलु शेर्पा, ८ मा उमेशजंग रायमाझी, ९ मा डा. डिला संग्रौला र १० मा सरिता प्रसाईलाई प्रतिनिधि खटाइएको कांग्रेसले जनाएको छ । ललितपुर-१ मा सह-महामन्त्री उमाकान्त चौधरी, २ मा देवेन्द्रराज कँडेल र ३ मा अर्जुन जोशी खटिएका हुन् । उता भक्तपुर-१ मा इन्द्र बानियाँ र २ मा गणेश लामा खटिएका छन् ।
काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा आइतबार दिउँसो २ बजेका लागि घोषित सरकारविरुद्धको प्रदर्शनमा जनसहभागिता बढाउन केन्द्रीय प्रतिनिधिलाई निर्वाचन क्षेत्रमा खटाइएको कांग्रेसले जनाएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकाविरुद्ध सडक आन्दोलनमा जाने निर्णय गरेको थियो ।