क्यानडाविरुद्ध अनिल शाहले बनाए लगातार दोस्रो अर्धशतक
तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल शाहले अर्धशतक बनाएका छन् ।
अनिल ५१ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले ५० रन बनाउँदै क्रिजमा छन् । अनिलले १४.५ ओभरमा आफ्नो अर्धशतक पूरा गरेका थिए । क्यानडाविरुद्धको जारी शृंखलामा उनले बनाएको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि शनिबार खेलिएको शृंखलाको दोस्रो खेलमा पनि उनले उत्कृष्ट अर्धशतक बनाएका थिए ।
उक्त खेलमा २५ वर्षीय अनिलले ५० रन बनाएका थिए । उनले केवल २० बलको सामना गरी तीन छक्का र सात चौका पनि हिर्काएका थिए । त्यो खेलमा उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान पनि रचेका थिए । उनले आफ्नो खेलजीवनको छैटौँ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका हुन् ।
१५ ओभरको खेल सकिँदासम्म नेपालले एक विकेट गुमाएर ८३ रन बनाएको छ । भीम सार्की पनि १३ रन बनाउँदै क्रिजमा छन् ।