तीन विद्यार्थी संगठनले भने- विगतमा कायम शुल्क तिरेर विद्यार्थीले इन्जिनियरिङ पढ्न पाउनुपर्छ
तीन विद्यार्थी संगठनले इन्जिनियरिङ अध्ययन संस्थानलाई शुल्कवृद्धि नगर्न आग्रह गरेका छन्।
विगतमा कायम शुल्कमै विद्यार्थीले पढ्न पाउनुपर्ने उनीहरूको भनाइ छ।
नेविसंघ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियन नेपालले शुक्रबार पुल्चोकमा पत्रकार सम्मेलन गर्दै विगतमा कायम शुल्कमै विद्यार्थीलाई पढ्न दिन प्रवेश परीक्षा लिइनुपर्ने बताएका हुन्।
‘हाललाई विगतमा कायम भई मानिआएकै शुल्कमा भर्ना गर्ने गरी प्रवेश परीक्षाको प्रक्रिया सुचारू गर्न आग्रह गर्दछौं,’ पत्रकार सम्मेलनपछि नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादवले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘केही सानो रकम घाटाको त्रास देखाएर राज्यलाई अर्बौं घाटा हुने गरी प्रवेश परीक्षा धकेल्ने षड्यन्त्रको जानेर वा नजानेर मतियार बन्न पुगेका महानुभावले यसको गाम्भीयतालाई थप महशुस गर्नेमा आशावादी छौं।’
समयानुकूल शुल्क पुनरावलोकनको मुद्दामा आफूहरू सचेत र जिम्मेवार रहेको उनीहरूको भनाइ छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले इन्जिनियरिङ अध्ययन संस्थानले एकलौटी शुल्क वृद्धि गरे आन्दोलन गरिने चेतावनी दिए।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले दोब्बरभन्दा बढीले स्नातक तहको शुल्कवृद्धि गरेपछि यसअघि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए।
३ लाख १३ हजार रुपैयाँ शुल्क रहेकोमा वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्याएपछि विद्यार्थी संघसंगठनहरूले शुल्क वृद्धि फिर्ता गर्नुपर्ने माग गरेका थिए।
शुल्क समायोजन गर्न ११ सदस्यीय समितिसमेत गठन भएको छ। यो समितिले ५ लाख शुल्क तोक्ने तयारी गरेको भन्दै विद्यार्थी संघसंगठनहरूले विरोध गरेका छन्।
२०५३ सालदेखि शुल्क वृद्धि भएको थिएन।