एमाले बागमती प्रदेश कमिटीको आकार बढ्यो : चार बजेबाट मतदान हुने ठोकुवा
चार दिनदेखि जारी नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको मतदान आज (बिहीबार) बेलुका चार बजेबाट सुरु हुने भएको छ । निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीकाअनुसार बिहीबार दिउँसो ४ बजेबाट मतदान गर्ने कार्यतालिका बनेको छ ।
‘चार बजेबाट मतदान गर्ने तालिका तय भएको छ । अब सो समयमा मतदान हुन्छ’, मैनालीले भने, ‘पाँच दश मिनेट वरपर हुने बेग्लै कुरा हो, नत्र अब अर्को समय निर्धारण हुँदैन ।’
नेकपा एमालेले प्रदेश कमिटीको आकार पनि बढाएको छ । यसअघि पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी बनाउने निर्णय गरेको एमालेले ५ सङ्ख्या बढाएर २४५ बनाउने भएको छ ।
‘क्लस्टरमा मिलेको थिएन । आदिवासी, जनजाति र पिछडिएको वर्गबाट ५ सदस्य थपिने भएका छन्’, प्रमुख निर्वाचन अधिकृत मैनालीले भने, ‘क्लस्टर मिलाउँदा सङ्ख्या बढेको हो ।’
वामगती प्रदेश कमिटीको अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन् । कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ, केशर बुढाथोकी र केशवराज पाण्डेले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
एमाले नेतृत्वले सहमतिमै प्रदेश कमिटी चयन गर्न गरेको प्रयास असफल भएपछि आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गरे पनि अन्तिम प्रतिस्पर्धा ढुङ्गेल र दाहालबीच हुने प्रतिनिधिहरूको अनुमान छ । यद्यपि निर्वाचन मण्डलले अध्यक्षमा ढुङ्गेल र दाहालका बीचमा पनि सहमति खोज्ने प्रयास जारी राखेका छन् । अध्यक्ष मण्डलका सदस्य रामेश्वर फुयाँलले मतदान र सहमति दुवै प्रक्रिया सँगसँगै अघि बढेको बताए ।
‘दुबै प्रयास जारी छन्’, फुयाँलको भनाइ छ । मतदानमा ढिलाइ हुँदा अध्यक्षका दुई आकाङ्क्षी ढुङ्गेल र दाहालले अघोषित रूपमा प्यानल बनाएर मत मागिरहेका छन् । स्रोतका अनुसार कैलाश ढुङ्गेलले उपाध्यक्षमा दावा दोेर्जे शेर्पालाई अघि सार्दा ईश्वर चन्द्र पोखरेल चिढिन पुगेका छन् । त्यस्तै ढुङ्गेल समूहबाट सचिव हस्त पण्डित रहेका छन् ।
दाहालले भने उपाध्यक्षमा नारायण खतिवडालाई सघाउने बचन दिएको बुझिएको छ । त्यस्तै सचिवमा रत्ना गुरुङलाई अघि सारेको पनि बुझिएको छ । यसअघि एकीकृत समाजवादीबाट एमाले फर्किएका सुवास कर्माचार्यलाई महासचिव शंकर पोखरेलले प्रदेश सचिव बनाउने वचन दिएका थिए । तर, अहिले चुनाव हुने भए नउठनू भन्ने निर्देशन दिएकाले उनी पछि हटेको निकटस्थहरू बताउँछन् ।
सुवासका नाममा सचिव सर्वसम्मत नभएपछि गोकुल बाँस्कोटाले स्ट्याटस नै लेखेको प्रतिनिधिहरुबीच चर्चा छ । दाहाल समूहबाट सचिवमा नवराज सिलवाल उठेको प्रतिनिधिहरुबीच चर्चा छ । दुवै समूहमा उपसचिवमा भने प्यानल छुटिएको छैन । ‘उपसचिवमा कसैले पनि प्यानलमा नसमेट्ने जसले जित्छ उसैलाई आफ्नो प्यानलको दाबी गर्ने तयारी छ’, एक एमाले नेताले भने, ‘डामाडोल अवस्थामा को कसको प्यानल भन्ने छुट्याउन नै गाह्रो छ ।’
ढुंगेललाई एमाले नेता महेश बस्नेत र दाहाललाई गोकुल बाँस्कोटाको समर्थन रहेको बताइन्छ ।