सुर्खेत बहुमुखी क्याम्पसमा २० लाख हिनामिना, क्याम्पस प्रमुखको राजीनामा माग
मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको अन्तर्गतको सुर्खेत बहुमुखी क्याम्पसमा यतिबेला विवाद नै विवाद छ । मध्यपश्चिम विश्वविद्यालयमा करार कर्मचारी नियुक्तिको विषयमा विवाद छ भने बहुमुखीमा लाखौँ रकम हिनामिना भएको भन्दै विवाद उत्कर्षमा पुगेको छ ।
स्मरण रहोस्, यी दुबै कर्णालीकै प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा चिनिन्छन् । अहिले यिनै शैक्षिक संस्था विवादले आन्दोलन गर्ने थलोको रुपमा पनि चिनिन थालेका छन् । सुर्खेत बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखकै संरक्षणमा २० लाख हिनामिना भएको भन्दै माओवादी निकट विद्यार्थी संगठन, नेविसंघ लगायतका संगठनले संयुक्त रुपमा आन्दोलन चर्काइरहेका छन् । २६ साउनदेखि क्याम्पस परिसरको अवस्था तनावग्रस्त छ ।
विद्यार्थीहरुले क्याम्पस प्रमुख माधव खनालको राजीनामा माग्दै पुतला जलाउनेदेखि प्रशासनमा तालाबन्दीसमेत गरेका छन् । अखिल क्रान्तिकारीका विद्यार्थी नेता हिक्मत शाही क्याम्पस प्रमुखले राजीनामा नदिई, आफू बिरामी भएको बहानामा घरमा सुतिरहेको बताए ।
उनले भने, ‘क्याम्पस प्रमुखले कर्मचारीको सेटिङमा भ्रष्टाचार लुकाउन खाजेका छन् । हिनामिनाको रकम छानविन हुनुपर्ने र क्याम्पस प्रमुखको राजीनामा हाम्रो माग हो ।’
यद्यपि यस प्रकरणमा केन्द्रबाट नै लेखाप्रमुखसहित ३ जनालाई निलम्बन गरिएको छ । विद्यार्थीहरुले लेखाशाखामा समेत तालाबन्दी गरेका छन् भने क्याम्पसको सवारी साधन पनि बन्द गरिदिएका छन् ।
विद्यार्थी नेता शाहीले स्ववियूले पनि उक्त घटनालाई खासै मतलव नगरेको विडम्वनापूर्ण अवस्था रहेको बताए । यद्यपि स्ववियू सभापति अक्कल बहादुर सिजापति भने आर्थिक हिनामिनाको छानविन हुनुपर्ने तर, क्याम्पसमा तालाबन्दी नै गर्ने पक्षमा आफू नभएको बताए ।
ताला लगाउने प्रवृत्तिले क्याम्पस झन् धराशयी बन्दै गएको सिजापतिको तर्क छ । तालाबन्दी गरेपछि हिनामिना भएको रकम असुलभन्दा बढी विद्यार्थीको पढाईमा क्षति हुने उनको भनाइ छ ।
निलम्बनमा परेका लेखाप्रमुख धर्मराज शाही आफूले घटना बाहिर ल्याइदिएकै कारण निलम्बनमा पारिएको बताउँछन् । आफूमाथि घटना मिलाउन दबाब आएको तर आफूले बाहिर ल्याइदिएपछि क्याम्पस प्रमुख, रजिस्ट्रार मिलेर निलम्बन गरेको उनको आरोप छ ।
उनले भने,‘खासमा लेखा सहायक ईश्वरी रेग्मीमाथि रकम हिनामिनाको तथा क्याम्पस प्रमुखमाथि संरक्षणको आरोप लागेको छ ।’ विगत दुई आर्थिक वर्षको गरी करिब २० लाख बढी रकम लेखाको आम्दानी शाखाबाटै गायब भएको शाहीको दाबी छ ।