भलिबलमा कप्तान र सेटर परिवर्तनले एसियन गेम्समा कस्तो पार्ला प्रभाव ?
नेपाली पुरुष राष्ट्रिय भलिबल टिममा अहिले युवा र नयाँ खेलाडीहरुको बाहुल्य छ । सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा हुने १९औं एसियनगेम्सको तयारीमा रहेको टोलीका १२ मध्ये ३ खेलाडी नयाँ छन् । यी ३ खेलाडीले गत महिना मात्र कीर्गिस्तानमा काभा नेसन्स लिगमा डेब्यू गरेका थिए ।
टोलीमा रहेका दुई जना खेलाडी मानबहादुर श्रेष्ठ र विशालबहादुर बिकसँग मात्रै एसियन गेम्स खेलेको अनुभव छ । मानबहादुर टोलीका कप्तान छन् । रविन चन्द, दुर्गाबहादुर खड्का र टेकराज अवस्थीले सन् २०१९ मा र विनोद चन्दले २०२१ मा डेब्यू गरेका थिए ।
नेपाली टोलीमा कप्तान र सेटर नयाँ छन् । गत महिना भएको काभा नेसन्स लिगबाट नेपालको कप्तानी गरेका सेटर हरिहजुर थापा सातौं प्रधानमन्त्री एनभीए राष्ट्रिय क्लब लिग भलिबलमा कप्तानी भूमिका राम्रोसँग निभाउन नसकेको भन्दै कारबाहीमा परे ।
आर्मी र गण्डकीबीचको खेल तनाव हुँदा धनबहादुर भट्टले दर्शक नै कुटेका थिए । त्यसपछि संघले धनबहादुरलाई ६ र राजेन्द्र विष्ट र धनपति कुँवरलाई तीन महिना निलम्बन गरेको छ । त्यही कारबाहीपछि मानबहादुर हरि हजुरको स्थानमा नयाँ कप्तान बनेका हुन् ।
काभा नेसन्स लिग खेलेका हरिहजुरसँगै धनबहादुर भट्ट, हरि अधिकारी, राजेन्द्र विष्ट, भिम गाहा मगर एसियन गेम्स खेल्ने टिममा छैनन् । उनीहरुको स्थानमा तीन नयाँ खेलाडी धिरोज बस्नेत, सम्राट भण्डारी र मनिष मानन्धर टिममा छन् भने विशाल विक र विनोद चन्दले पुनरागमन गरेका छन् ।
हरि हजुरलाई कप्तानबाट हटाए पनि भलिबल संघले १९औं एसियन गेम्सका लागि अन्तिम टोलीमा राखेको थियो । तर उनले आफू अस्वस्थ भएको भन्दै प्रशिक्षणमा उपस्थित हुन नसक्ने बताए ।
धेरैले हरिहजुरलाई टिममा नजानुको कारण कप्तानको विषय नै रहेको बताएका छन् । तर हरिहजुरले भने आफू अस्वस्थ भएर नै टिमबाट नाम फिर्ता लिएको बताए । ‘बाहिर हल्ला गरेजस्तो होइन । मेरो ढाडको समस्या भएकोले नाम फिर्ता लिएको हो’, हरिहजुरले भने, ‘एसियन गेम्स गुमाउँदा पीडा त छ नै । यो हल्लाले झन् पीडा दिएको छ । म स्वस्थ भएर पक्कै टिममा फर्कनेछु ।’
भलिबल संघले एसियन गेम्सका लागि हरि हजुरको स्थानमा एपीएफका सेटर लोकेन्द्र गिरीलाई टिममा राखेको छ । लोकेन्द्रले पनि गत महिना कीर्गिस्तानमा काभा नेसन्स लिगमा डेब्यू गरेका थिए । लोकेन्द्रबाहेक टिममा अर्का सेटर सम्राट भण्डारी छन् ।
आर्मीकै खेलाडी सम्राटले घरेलु प्रतियोगितामा समेत मुख्य भूमिकामा खेल्न पाएका छैनन् । सम्राटले गत वर्ष बंगलादेशमा भएको यू-२३ सेन्ट्रल जोनमा नेपालको यू-२३ टिमबाट खेलेका थिए । त्यसकै आधार उनी राष्ट्रिय टिममा समावेश भएका हुन् । पहिलो पटक राष्ट्रिय टिममा परेका उनले सिधै एसियन गेम्स खेल्नुपर्नेछ ।
समग्र टिमलाई नै चलाउने खेलाडी हो सेटर । त्यसैले सेटर अनुभवी र टिमलाई नै काँधमा बोके हिँड्न सक्ने खालको हुनुपर्छ । ‘पहिलो कुरा सेटर त भलिबलकै ‘कि’ खेलाडी नै हो । सेटरले नै पूरा खेल कसरी खेलाउने भन्ने निर्भर गर्छ,’ राष्ट्रिय टिमका पूर्व कप्तान तथा एक दशक नेपालको लागि सेटर भूमिकामा खेलेका इमबहादुर मगरले अनलाइनखबरसँग भने, ‘सेटरले खेलाउन सकेन भने अन्य पोजिसनमा जति नै राम्रो खेलाडी भए पनि आफ्नो प्रदर्शन देखाउन सक्दैनन् ।’