चिकित्सा शिक्षा आयोग र सीटीइभीटीबीच क्षेत्राधिकार विवाद सतहमा, भर्ना प्रक्रिया अनिश्चित
दुई सरकारी निकायबीचको क्षेत्राधिकार विवाद सतहमा आएको छ । चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बीचको क्षेत्राधिकार विवाद बाहिर आएको हो ।
छुट्टाछुट्टै ऐन, नियम कानुन अनुसार सञ्चालित दुई निकायले एक अर्कामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । दुवै निकायले विज्ञप्तिबाजी गरेर एक अर्काको ध्यानाकर्षण गराएका छन् ।
दुई निकायबीचको विवादले प्रमाणपत्र तह चिकित्सा शिक्षाको भर्ना प्रक्रिया अन्यौलमा परेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएपछि परिषद्ले चिकित्सा शिक्षाको भर्ना प्रक्रिया अगाडि बढाएको थियो । परिषद्ले शैक्षिक सत्र २०८०-०८१ मा प्रि–डिप्लोमा, डिप्लोमा तहका शैक्षिक कार्यक्रमका लागि आवेदन आह्वान गरेको थियो । साउन १२ गतेसम्मका लागि आवेदन फारम भर्न सकिने गरी परिषद्ले समय तोकेको थियो ।
परिषद्ले प्रमाणपत्र तह, नर्सिङ, प्रि– डिप्लोमा, डिप्लोमा, सामान्य चिकित्सा लगायतका विषयको कोटा निर्धारण गर्नुका साथै प्रवेश परीक्षाका लागि आवेदन आह्वान समेत गरेपछि चिकित्सा शिक्षा आयोगले उक्त कार्य आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै भर्ना, कोटा निर्धारण लगायतको प्रक्रिया रोक्न निर्देशन दिएको थियो । सोही आधारमा हाल उक्त प्रक्रिया रोकिएको छ ।