कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायमा जम्मा ३७ प्रतिशत विद्यार्थी भर्ना, ८ क्याम्पसमा विद्यार्थी शून्य
चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायमा विश्वविद्यालयले छुट्याएको कोटाभन्दा ३७.४७ प्रतिशत कम विद्यार्थी भर्ना भएका छन् ।
विश्वविद्यालयको तथ्यांक अनुसार एक आंगिक र सात सम्बन्धन प्राप्त क्याम्पसहरुमा कृषि संकायमा एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् । केन्द्रीय क्याम्पस र आंगिकका ५८४ सिट संख्यामा ३५० जना विद्यार्थी भर्ना भएका छन् भने बाँकी २३४ सिट खाली छन् । यसैगरी निजी क्याम्पसहरुमा ३५० सिट संख्या पुरै खाली छन् ।
विश्वविद्यालयको आंगिक क्याम्पस दैलेखको दुल्लुमा ५४ सिट संख्या भए पनि एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् । यसैगरी सुर्खेतको वीरेन्द्रनगर, ललितपुरको चापागाउँ, नवलपरासीको रामनगर, झापाको गौरादह, सुनसरीको इटहरी, बाँकेको कोहलपुर, पूर्वी नवलपरासीको गैंडाकोट गरी सात सम्बन्धन प्राप्त कलेजमा ३५० सिट संख्या रहे पनि विद्यार्थी भर्ना संख्या शून्य छ ।
केन्द्रीय क्याम्पस रामपुरमा १६२ सिट संख्यामा जम्मा १२७ जना, पुनचौर कास्कीमा ५४ सिट संख्यामा ४८ जना, कपिलाकोट, सिन्धुलीमा ५४ सिट संख्यामा ४० जना, पाखि्रबास धनकुटामा ५४ सिटमा ३२ जना, टीकापुर कैलालीमा ५४ सिटमा ३१ जना, बर्दिवास महोत्तरीमा ५४ सिटमा २२ जना, खजुरा बाँकेको ४९ सिटमा २९ जना, माडीचौर रोल्पामा ४९ सिटमा २१ जना विद्यार्थी अध्ययनरत छन् ।