शिक्षक अभावको असर : एसईईमा ३३ प्रतिशतको गणितमा ‘ई’ ग्रेड
शिक्षक दरबन्दी अभाव र भएका दरबन्दी पनि रिक्त हुँदा विद्यार्थीको सिकाइ प्रभावित भइरहेको पालिका तथा शिक्षकहरु बताउँछन् । भर्खरै सार्वजनिक भएको एसईईको नतिजामा गणित विषयमा विद्यार्थीहरु सबैभन्दा कमजोर देखिनुको कारण विषय शिक्षक अभाव भएको सरोकारवालहरुको भनाइ छ ।
गत असार २१ गते सार्वजनिक भएको एसईईको नतिजामा १ लाख ५५ हजार ४५८ (३२.८६ प्रतिशत) परीक्षार्थीले गणितमा ई ग्रेड ल्याएका छन् । त्यसमध्ये पनि सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा कमजोर देखिएको बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले विस्तृत रुपमा विश्लेषण गर्न बाँकी रहेपनि शिक्षक अभावका कारण पठनपाठनमा असर पुगिरहेको र गणित विषय सबैभन्दा कमजोर देखिनुमा शिक्षक अभावको कारण पनि देखिएको बताए ।
उनी भन्छन्, ‘सामुदायिक विद्यालयमा विषयगत शिक्षकहरु नभएकोले पनि नतिजा कमजोर आएको बुझिन्छ । गणित विषयको शिक्षक अभावले नतिजालाई प्रभाव पारेको छ ।’
शिक्षक सेवा आयोगले गत वर्ष मावि तहको गणित विषयमा २८९ रिक्त शिक्षक पदको लागि सञ्चालन गरेको परीक्षामा १४१ जना मात्रै उत्तीर्ण भएका थिए । यो वर्ष गणित विषय शिक्षकको २०८ रिक्त दरबन्दीका लागि असार ९ गते सञ्चालित विषयगत परीक्षाको नतिजा सार्वजनिक हुन बाँकी छ ।
परीक्षाको नतिजा शिक्षण सिकाइसँग जोडिने र शिक्षण सिकाइ कक्षा कोठामा शिक्षकको उपस्थितिसँग जोडिने बोर्ड अध्यक्ष शर्मा बताउँछन् । उनी भन्छन्, ‘नतिजा राम्रो आउनु भनेको शिक्षक सिकाइ प्रभावकारी हुनु हो । सिकाइ प्रभावकारी हुन कक्षा कोठामा विषयगत शिक्षकको उपस्थिति आवश्यक छ । तर कतिपय विद्यार्थीले विषयगत शिक्षक नपाएको भन्ने छ ।’ शिक्षक सिकाइ समयसँगै परीक्षा प्रणालीमा पनि प्रभाव पार्ने भएकाले सुधार गर्ने प्रयास गरिरहेको अध्यक्ष शर्माले बताए ।
परीक्षा प्रणाली सुधारका लागि बोर्डले यो वर्ष गणित, विज्ञान र अंग्रेजीमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेको थियो । बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने हुन्छ र वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म नदोहोरिने हुन्छ ।
गत वर्षको तुलनामा यो वर्ष नियमित पठनपाठन भएको र स्तरीकृत परीक्षा प्रणाली पनि लागू गरिएकाले नतिजामा सुधार हुने आशा गरिए पनि अपेक्षाकृत नतिजा नआएको बोर्डले जनाएको छ । ‘गत वर्षको तुलनामा यो वर्ष भौतिक कक्षा नियमित रुपमा सञ्चालन भएको थियो । मुख्य तीन विषयमा स्तरीकृत परीक्षा प्रणाली पनि लागू गरिएकाले अलि बढी आशा थियो,’ अध्यक्ष शर्माले भने, ‘तर कतिपय विद्यार्थीले शिक्षक अभावको समस्या भोगेकाले अपेक्षाकृत नतिजा नआएको बुझेका छौं ।’
त्यसैले शिक्षण सिकाइ राम्रो हुन योग्य तथा दक्ष विषय शिक्षकको व्यवस्था हुनुपर्ने, तालिम दिनुपर्ने, शिक्षण पेशामा टिकाउन प्रोत्साहन दिएर योग्य एवं दक्ष शिक्षकको व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।
गत बुधबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले एसईईमा गणित, विज्ञान र अंग्रेजीमा नतिजा कमजोर भएको कारण सोधेपछि शिक्षा मन्त्री तथा सचिवले पर्याप्त विषयगत शिक्षक दिन नसक्दा त्यसको असर माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा देखिएको स्वीकार गरेका थिए ।