विश्व क्रिकेटमा वेस्ट इन्डिजको उत्थान र पतनको कथा
कुनै समय विश्व क्रिकेटमा दबदबा थियो वेस्ट इन्डिजको । भिभ रिचर्डस, एन्डी रोबर्टस, क्लाइभ लोइड, केथ बोयस, रोय फ्रेड्रिक्स, माइकल होल्डिङ जस्ता प्रभावशाली खेलाडीको बलियो जगमा उभिएको यो क्यारेबियन टोलीले कुनै समय विश्व क्रिकेट हल्लाएको थियो ।
त्यसैको प्रतिफल थियो आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सुरुको दुई संस्करणमा वेस्ट इन्डिज निर्विकल्प च्याम्पियन बनेको थियो । सन् १९७५ मा पहिलो विश्वकपको उपाधि चुमेको वेस्ट इन्डिजले सन् १९७९ मा सम्पन्न दोस्रो संस्करणमा समेत कसैलाई छेउछाउ ढिम्किन दिएन ।
पहिलो संस्करणमा समूहगत चरणदेखि नै अपराजित रहेको वेस्ट इन्डिजले फाइनलमा बलियो अस्ट्रेलियालाई १७ रनले हराएको थियो । वेस्ट इन्डिजको कतिसम्म दबदबा थियो भने पहिलो विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा माथिल्लो पाँच स्थानमा तीन जना त वेस्ट इन्डिजकै बलर परेका थिए । क्यारेबियन टोलीका ब्रेन्डन जुलियन र केथ बोयसले १०–१० विकेट लिएका थिए भने एन्डी रोबर्टसले आठ विकेट हात पारेका थिए ।
अब चर्चा गरौँ दोस्रो विश्वकपको । दोस्रो विश्वकपमा पनि वेस्ट इन्डिज अपराजित रहँदै उपाधिसम्म पुगेको थियो । समूहगत चरणमा वेस्ट इन्डिज र श्रीलङ्काबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो । दोस्रो संस्करणको फाइनलमा वेस्ट इन्डिजले विश्व क्रिकेटको जननी राष्ट्र इङ्ल्यान्डलाई ९२ रनको फराकिलो अन्तरले हराएको थियो ।
उक्त विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो र दोस्रो स्थानमा वेस्ट इन्डिजकै खेलाडी थिए । गोर्डन ग्रिनिजले चार खेल खेल्दै सर्वाधिक दुई सय ५३ रन बनाएका थिए भने भिभ रिचर्डसले समान खेल खेल्दै दुई सय १७ रन बटुलेका थिए । सर्वाधिक विकेट लिने बलरको सूचीमा पनि वेस्ट इन्डिजका माइकल होल्डिङ आठ विकेटसहित पाँचौँ स्थानमा थिए ।