त्रिभुवन विश्वविद्यालयले २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने
त्रिभुवन विश्वविद्यालयले २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको छ । स्नातक तहमा भर्ना भए पनि प्रयोगात्मक परीक्षामामा अनुपस्थित भएका कारण उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूलाई मौका परीक्षाको अवसर दिएको हो । परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले तीन वर्षे स्नातक तहअन्तर्गत व्यवस्थापन, शिक्षा शास्त्र, मानविकी तथा सामाजिक शास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत भर्ना भएका विद्यार्थीलाई यस्तो मौका दिएको हो ।
पनिकाले २०५३ साल देखिकालाई अन्तिम मौका दिइएको हो । सात वर्ष समय सीमा नाघी सकेका विद्यार्थीहरूको लागि मात्र यो व्यवस्था लागू हुने पनिकाले जनाएको छ ।
२०५३ सालदेखि भर्ना भएका तर प्रयोगात्मक परीक्षा मात्र रोकिएका सबै परीक्षार्थीले यो मौका पाउन लागेका हुन् । मौका परीक्षामा सहभागी हुन चाहनेले आगामी फागुन ९ गतेभित्र सम्बन्धित क्याम्पसमा परीक्षा फाराम भर्नुपर्नेछ । साथै सम्बन्धित विद्यार्थीले पूरा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, परियोजना कार्य तथा शिक्षण अभ्यासलगायतका सम्पूर्ण कामको प्रक्रिया पूरा गरी आगामी चैत १५ गतेभित्र सोको विवरण बुझाउनुपर्ने पनिकाले जनाएको छ ।