कोशी अस्पतालका चिकित्सकले जिवित शिशुुुलाई मृत घोषित गरेपछि....
१९ दिनका शिशुले दूध नखाएपछि उमादेवी मुखियालाई आफन्त र छरछिमेकीले अस्पताल लैजान सल्लाह दिए ।
बुधबार बिहान विराटनगर १० मा रहेको माइती घरबाट श्रीमान दीलिप मुखियासहित आफन्तले एम्बुलेन्समा ल्याएर शिशुलाई कोशी अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरे । जहदा गाउँपालिकाको वडा नम्बर ३ घर भए पनि बच्चा जन्मिएपछि उमादेवी माइतीघर विराटनगर १० आएकी थिइन् ।
अस्पताल पुगेको केही समयपछि चिकित्सकले शिशुको धडकन नचलेको भन्दै मृत घोषित गरे । १९ दिनको छोरीको मृत्युको खबरले उमासहित आफन्तको रुवावासी चल्यो ।
अन्त्येष्टिका लागि भन्दै माइती घर लिएर गए । तर घर पुगेपछि आफन्तले हेर्दा शिशुले सास फेरिन् । हात खुट्टा पनि चलाएपछि हतार हतार एम्बुलेन्स बोलाएर कोशी अस्पताल नजिकै रहेको गोल्डेन अस्पताल भर्ना गरे ।
बुधबार बिहान भर्ना गरिएकी शिशुको एनआईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । कम तौलको शिशुमा शारीरिक कमजोरी, संक्रमण र चिसोका कारण समस्या भएको हुनसक्ने गोल्डेन अस्पतालका चिकित्सक डाक्टर सतिश यादवले जानकारी दिएका छन् ।
उमादेवीका अनुसार छोरीले दूध नखाएपछि बिहान कोशी अस्पताल लगिएको थियो । अस्पतालमा शिशुलाई तीन जनाले जाँच गरेका थिए । चिकित्सकले लापरबाही गरी आफ्नो बच्चालाई जिउँदै हुँदा मृत घोषित गरेको उनले आरोप लगाइन् ।