सन्दीपलाई थप समय हिरासत राख्न प्रहरीको तयारी
प्रहरीले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने तयारी गरेको छ ।
अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने तयारी गरेको हो ।
२० असोजमा पक्राउ परेका लामिछानेलाई सार्वजनिक विदाका कारण २४ असोजमा मात्र पहिलो पटक अदालत उपस्थित गराइएको थियो । सुरुमा ७ दिन हिरासतमा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएको भन्दै दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति लिएको थियो ।
दोस्रो पटक थपिएको म्याद मंगलबार सकिँदैछ । ‘आज (मंगलबार) सरकारी विदा परेकोले बुधबार अदालतमा हाजिर हुने जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
दोस्रो पटक म्याद थप हुँदा सन्दीपको पक्षमा वकालत गरिरहेका कानुन व्यवसायीहरुले थपिएको म्यादपछि मुद्दा दर्ता होस् भन्ने चाहेको बताएका थिए । तर प्रहरीले घटनामा अनुसन्धान नसकिएको बताएको छ । र, थप समय हिरासतमा राख्न अनुमति लिने तयारी गरेको छ ।
कानूनतः प्रहरीले २४ दिनसम्म लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । प्रहरीले यो अवधिमा सरकारी वकिलको उपस्थितिमा लामिछानेको बयान लिएको छ । त्यसमा उनले जाहेरवालासँग घुम्न गएको र सँगै बसेको स्वीकारेका छन् । यद्यपि, जबरजस्ती करणीको अभियोग चाहिँ अस्वीकार गरेका छन् ।
प्रहरी स्रोतका अनुसार लामिछानेले पीडित भनिएकै किशोरीको आग्रहमा आफूहरु घुम्न गएको पनि दाबी गरेका छन् । पीडित किशोरी लामिछानेकी ‘फ्यान’ थिइन् । त्यसैको फाइदा उठाएर उनले जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो ।
जाहेरी दिएलगत्तै प्रहरीले किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराएको थियो । लामिछाने चाहिँ त्यसबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमाइकामा थिए । पक्राउ पूर्जी जारी भएपछि उनलाई क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो ।
एक महिनासम्म अमेरिकामा लुकेका उनी अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएपछि आत्मसमर्पण गर्ने भन्दै २० असोजमा काठमाडौं फर्किएका थिए । त्यसै दिन प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको थियो ।