बराबरीमा सकियो खेल नेपाल र अमेरिकाबीचको
आइसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ ।
अमेरिकाको मुसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै एक एक अङ्क बाँडेका छन् । नेपालले दिएको २७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर १७४ रनको योगफल बनाएपछि खेल बराबरीमा सकिएको हो ।
अमेरिकाका लागि स्टेभेन टेलरले ११४ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन बनाए । सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रन जोडे ।
नेपालका आदील अन्सारीले दुई विकेट लिए भने कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए ।अमेरिकालाई जितको लागि अन्तिम छ बलमा छ रन चाहिएको थियो तर नेपालका आदील अन्सारीले पाँच रन खर्चिदै खेललाई बराबरीमा ल्याए । निकै रोमाञ्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक थियो ।