६ महिनामै १० खर्बको आयात, व्यापार घाटा ८ खर्ब ८० अर्ब
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामै वस्तु आयातको आंकडा १० खर्ब नजिकै पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन-पुससम्म कुल ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
यो गत आव २०७७/७८ को यसै अवधिको तुलनामा ५१.१३ प्रतिशत धेरै हो । सो वर्ष ६ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
सरकारले उच्च आयात नियन्त्रण गर्न पुस पहिलो साता नियन्त्रात्मक प्रावधान ल्याएको थियो । तर, आंकडामा भने त्यसको प्रभाव परेको देखिँदैन । पुस महिनामा मात्र १ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
६ महिनामा निर्यात भने १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको भएको छ । निर्यातको वृद्धिदर ९५.४८ प्रतिशत छ । अघिल्लो आवको ६ महिनामा वस्तु निर्यात ६० अर्ब ७९ करोड रुपैयाँ बराबरको थियो ।
बढ्दो आयात र कमजोर निर्यातका कारण व्यापार घाटा चुलिएको छ । आंकडा अनुसार ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४६.६४ प्रतिशत धेरै हो ।