परीक्षार्थिले तातो पानी माग्दा निरिक्षकले परिक्षा नै रद्ध गरिदिए
काठमाडौंको कोटेश्वरमा रहेको नेसनल कलेज अफ एकेडेमिक स्क्वायर । जहाँ त्रिविको स्नातक तहको परीक्षा सञ्चालन भइरहेको छ । पशुपति बहुमुखी क्याम्पसको परीक्षा केन्द्र उक्त कलेजमा तोकिएको छ ।
सो कलेज विद्यार्थीको स्वास्थ्यप्रति भने कत्ति पनि संवेदनशील देखिएन । बरु एउटै कक्षामा ३५ जनासम्म राखेर परीक्षा सञ्चालन गरिरहेको छ । जबकि स्वास्थ्य मापदण्डअनुसार २५ जनाभन्दा धेरै विद्यार्थी एउटै कक्षामा राख्न पाइँदैन । उक्त कलेजमा स्यानिटाइजरको पनि व्यवस्था थिएन । परीक्षा हलभित्र रुघाखोकी लागेका विद्यार्थी प्रशस्तै थिए । जसमध्येकी एक थिइन्, प्रनिशा पौडेल । उनको स्वास्थ्य ठीक थिएन । तैपनि, त्रिविले परीक्षा सञ्चालन गरेकाले जाँच नछुटोस् भनेर उनी जसोतसो परीक्षा केन्द्रसम्म पुगिन् । परीक्षा छुट्ने डरले अधिकांश विद्यार्थी आफ्नो समस्या लुकाएरै परीक्षा हलसम्म पुग्छन् । जसको प्रतिनिधि उदाहरण थिइन्, प्रनिशा । प्रनिशा पौडेल

परीक्षा हलमा परीक्षा दिँदादिँदै उनलाई असहज भयो । त्यसपछि गार्डसँग तातोपानीका लागि आग्रह गरिन् । परीक्षार्थी प्रनिशाले पानी माग्न नभ्याउँदै बीचमा आइपुग्छन्, परीक्षा निरीक्षक पर्शुराम राई । र, जवाफ फर्काउँछन्, ‘तेरो घर हो र तातो चिसो सबै पाउन ?'
प्रनिशाले आफू बिरामी रहेको कुरा निरीक्षकलाई सुनाइन् । तर, निरीक्षकले उनकाे कुरा बेवास्ता गर्दै ‘तल चिसो पानी छ, गएर खा' भन्दै झर्किएको प्रनिशा बताउँछिन् । त्यसपछि उनले निरीक्षकको जवाफको प्रतिवाद गर्छिन्, त्यही कुरा अलि नरमसँग भन्न अनुरोध गर्छिन् ।
यत्तिकैमा निरीक्षक राई जङ्गिए र प्रनिशालाई हलबाहिर निकाले । करिब १ घण्टा पनि परीक्षा हलमा बस्न नपाएकी प्रनिशा कलेजअगाडि उभिएरै रुन थालिन् । त्यहाँ रहेका अन्य शिक्षकलाई अनुनय विनय गरिन् ।
तर, परीक्षा निरीक्षकले उल्टै आफूमाथि दुर्व्यवहार भएको भन्दै परीक्षा नियन्त्रण कार्यालय, त्रिविमा फोन हाने । आत्तिएकी प्रनिशा ‘मैले पानी मागेर कसरी दुर्व्यवहार गरेँ' भन्दै क्याम्पस प्रशासनअगाडि कराउन थालिन् ।

त्यसपछि परीक्षा निरीक्षक स्वयम् बाहिर निस्किएर ‘यो केटीलाई महिला प्रहरी बोलाएर बाहिर खेद' भने । उनलाई कलेज परिसरबाटै बाहिर निकालियो । यी सबै दृश्यको साक्षी थिए, प्रहरी निरीक्षक समिर थारू । साथै, अन्य विद्यार्थीले पनि परीक्षा निरीक्षकको व्यवहारको विरोध गरे ।
बिहान ७ बजे सुरु भएको उक्त परीक्षा १० बजे सकियो । सबै विद्यार्थी बाहिर निक्लिए । तर, प्रनिशा रुन्चे अनुहारमा कलेजभित्र नियालिरहेकी थिइन् । उनको रुन्चे अनुहारबारे सबै साथीले चासो व्यक्त गरे । प्रनिशाले रुँदै आफ्नो व्यथा सुनाइन् ।
त्यसपछि उनका साथीहरूले कलेज प्रशासनविरुद्ध नाराबाजी गर्न थाले । कलेजले स्थिति सम्हाल्ने बहानामा प्रहरी बोलायो । र, विद्यार्थी र प्रशासनबीच केही समय भनाभन भयो ।
साथीको न्यायका निम्ति विद्यार्थीहरू बोलिरहेका थिए । स्वयम् परीक्षा निरीक्षकबाट जवाफ खोजिरहेका थिए । तर, निरीक्षक पर्शुराम राई बाहिर निस्किएनन् । बरु केही युवाले निरीक्षक भनेको म नै हुँ भन्दै विद्यार्थीको आवाज दबाउन भने खोजे । अन्त्यमा केही सीप नलागेपछि त्रिविबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी आएर जवाफ दिने भन्दै कलेज प्रशासनले ढाँटे ।
परीक्षा नियन्त्रक आउने आसमा विद्यार्थी पनि केही बेर मत्थर भए । तर, २ घण्टा बितिसक्दा पनि नियन्त्रक आएनन् । उक्त कलेजले आफूहरूलाई ढाँटेको चाल पाएपछि विद्यार्थी फेरि नाराबाजी गर्न थाल्छन् । त्यसपछि प्रशासनले प्रनिशासँग कुरा गर्ने भन्दै उनलाई कलेज प्रशासनभित्र लग्यो । जहाँ करिब ४/५ जनाले प्रनिशालाई आफ्नो गल्ती स्वीकार्न दबाब दिएको बताउँछिन्, प्रत्यक्षदर्शी सम्झना राई ।
करिब १५ मिनेटको सवालजवाफपछि प्रनिशा बाहिर आइन् । तर, उनको मुहारमा कुनै परिवर्तन भएको थिएन । उही रुन्चे अनुहार बोकेर उनी बाहिर निस्किइन् । कारण, क्याम्पस प्रशासनले अब यस विषयमा केही गर्न नसक्ने भन्दै फर्काइदिएछ । जबकि त्यहीँ रहेका अन्य शिक्षक/कर्मचारीसमेत निरीक्षकको नै गल्ती रहेको स्वीकार्छन् ।
शिलापत्रसँग कुरा गर्दै एक शिक्षकले भने, ‘पर्शुराम सर यस्तै हुन्, ठाडो स्वभावका छन् । आवेगमा आएर निर्णय लिन्छन् ।'
परीक्षा निरीक्षक राई भने आफूमाथि विद्यार्थीले चर्को स्वरमा बोलेकाले कारबाही गर्न बाध्य भएको बताउँछन् । ‘उनी चर्को स्वरमा हलभित्र कराउन थालिन्, ममाथि दुर्व्यवहार गरिन् । त्यसैले कारबाही गर्न बाध्य भएँ,' उनले भने ।
तर, प्रनिशाले भने आफूले दुर्व्यवहार नगरेको बताइन् । उनकै कक्षामा परेका विद्यार्थी पनि प्रनिशाले तातोपानी माग्दा निरीक्षकले ठाडो जवाफ फर्काएकाले त्यस्तो स्थिति उत्पन्न भएको बताउँछन् । ‘तातोपानी मागेकै कारण निरीक्षकले तेरो घर हो र भन्ने जवाफ दिएपछि मात्र प्रनिशाले चर्किएर बोलेकी हो,' वासु काफ्लेले भने, ‘के निरीक्षक भन्दैमा ठाडो स्वरमा बोल्न मिल्छ ?'
नेसनल कलेज अफ एकेडेमिक स्क्वायरलाई विद्यार्थीको भविष्यबारेमा कुनै चिन्ता थिएन । बरु ढाकछोप र आलटाले जवाफ दिएर प्रशासनले टारिदियो । परीक्षा निरीक्षक त झन् विद्यार्थीसँग बोल्नै चाहेनन् । विद्यार्थीबाट तर्किएरै परीक्षार्थीको कपीको बन्डल बोकेर उनी त्रिवितिर लागे ।