हैदरावादको जित
आइपिएलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बेंग्लोरुलाई ५ विकेटले पराजित गरेको छ।
शनिबार जित हात पारेसँगै हैदरावादले प्लेअफ पुग्ने सम्भावना जीवित नै राखेको छ। चौथो स्थानमा उक्लिएको हैदरावादको अन्तिम खेलअघि १२ अंक छ।
पाँचौ स्थानको पञ्जाव, छैटौं स्थानको राजस्थान र सातौं स्थानको कोलकताको पनि समान खेलबाट समान १२-१२ अंक नै छ। अन्तिम स्थानको चेन्नईको १० अंक छ। जसका कारण अन्तिम खेलअघि १२ अंक जोडेका सबै टिमको प्लेअफ सम्भावना छ।
यता बेंग्लोर पराजित भएसँगै अन्तिम खेलअघि प्लेअफ पुग्ने मौका गुमायो। दोस्रो स्थानको बेंग्लोरको १४ अंक छ।
दिल्ली क्यापिटल्स पनि १४ अंक जोडेर तेस्रो स्थानमा छ। दुवै टिमको अझै प्लेअफमा स्थान पक्का भएको छैन। १८ अंक जोडेर शीर्ष स्थानमा रहेको मुम्बईको मात्र प्लेअफमा स्थान पक्का भएको छ।
शनिबार शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ७ विकेटको क्षतिमा १२० रनमा मात्र जोड्न सक्यो। बेंग्लोरका लागि जोस फिलिपले ३२ रन र एबी डी भिलियर्सले २४ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बेंग्लोरलाई सस्तोमा रोक्ने क्रममा हैदरावादका सन्दीप शर्मा र जासन होल्डरले २-२ विकेट लिए। १२१ रनको लक्ष्य हैदरावादले १४.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। हैदरावादको जितमा ऋद्धिमान साहले ३९ रन र जासन होल्डरले नटआउट २६ रन जोडे।