फिलिपिन्स : लकडाउन उल्लङ्घन गर्नेलाई कुकुरको खोरमा थुनियो
(काठमाडौं) कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले अत्यावश्यक कामबाहेक घरबाट ननिस्किन आग्रह गर्दै आएको छ । सुरक्षाकर्मीहरु पनि लकडाउनको पालना गराउन ठाउँठाउँमा परिचालित छन् । तर, मानिसहरुबाट लकडाउन उल्लङ्घन गर्ने क्रम रोकिएको छैन ।
नेपालमा लकडाउन उल्लङ्घन गर्नेहरुलाई सडकमा मुर्गा बनाएको, कान समातेर उठबस गराएको, पुसअप गराएको फोटो–भिडियो सार्वजनिक भएका छन् ।
तर, लकडाउनको नियम पालना नगर्नेहरुबाट हैरान भएपछि फिलिपिन्स सरकारले अनौठा र कडा खालका सजायको सहारा लिनुपरेको छ । २४ मार्चमा सेन इसिद्रो प्रहरीले कर्फ्यु उल्लङ्घन गर्नेहरुलाई चर्को घाममा बसालेको थियो र स्थानीय सरकारको फेसबुक पेजमार्फत् कर्फ्यु उल्लङ्घन गर्नेहरुलाई यस्तै सजाय हुने घोषणा गरियो ।
यसैगरी केही दिन अगाडि सान्ताक्रुज, लगुना प्रान्तमा त कर्फ्यू उल्लङ्घन गर्नेहरुलाई कुकुरको खोरमा थुनियो ।
फिलिपिन्समा कोरोना संक्रमण रोकथामका लागि राष्ट्रपति रोड्रिगो दुटर्टेको निर्देशनअनुसार कर्फ्यु लगाइएको छ । कर्फ्यु उल्लङ्घन गर्नेहरुलाई मात्र होइन, मास्क लगाउन नमान्नेहरुलाई पनि प्रहरीले पिटेको र गोली चलाएको खबरहरू सार्वजनिक भएका छन् ।
एक जना प्रहरी अधिकारीले रेडियोमार्फत भनेका छन्, यदि कुनै व्यक्ति गलत समयमा घरबाहिर निस्कियो भने उसलाई गोली हानिने छ ।’