बोतलमा थाप्ने, भण्डारण गृहमा खन्याउने पेट्रोलियम पाइपलाइन उदघाटन
२४ भदौ, काठमाडौं । नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजना आजबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन परियोजनाको परीक्षणपछि उदघाटन गर्न लागिएको हो । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने नेपाल आयल निगमको भनाइ छ
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार, नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ-आफ्नो देशबाट ‘स्वीच’ थिचेर पाइपलाइन उद्घाटन गर्ने तय भएको छ ।स्वीच थिचेर पेट्रोलियम पाइपलाइनको उदघाटन मध्याहृन १२ बजे हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । सुरुमा दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट भिडियो कन्फ्रेन्समार्फत स्वीच थिचेपछि बरौनीमा तेलको पाइप ‘अन’ हुन्छ । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, त्यसपछि सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रिसिभ स्वीच थिचेर भारतबाट पठाइएको तेल स्वीकार गर्ने छन् ।तेल पहिल्यै पाइपमा भरेर राखिएको हुनाले स्वीच थिच्नासाथ तेल खस्न थाल्नेछ । पाइपबाट झारेको तेल बोतलमा थापेर बरौनी डिपो प्रमुखले नेपाल आयल निगमका प्रमुखलाई हस्तान्तरण गर्नेछन् । त्यसलाई निगमका प्रमुखले भण्डारगृहमा खन्याउनेछन् । त्यससँगै पाइपबाट तेल भण्डारगृहमा खन्याइन्छ । यो कामको लागि अमलेखञ्जमा नेपालका अधिकारीहरु भेला भएकाछन्