अख्तियारका पूर्वआयुक्त पाठकको भ्रष्टाचार कनेक्सनः मण्डलविरुद्ध पनि सोझियो अनुसन्धान
भ्रष्टाचार अभियोगमा मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक निकटका व्यक्तिमाथि अनुसन्धान थालिएको छ ।
अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय काठमाडौंका नायब सुब्बा ललित झाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेपछि अर्का कर्मचारी रामबाबु मण्डलमाथि अनुसन्धान सोझिएको अख्तियार स्राेतको दाबी छ ।
मालपोत कार्यालय धनुषाका अधिकृत मण्डललाई एक महिनाअघि जिल्ला मालपोत कार्यालय सिराहामा सरुवा गरिएको थियो । त्यसलगतै सर्लाहीको धनकौल गाउँपालिकामा उनको सरुवा भयो । मण्डलले पूर्वआयुक्त पाठकका लागि कार्य गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।
विमानस्थल कार्यालय काठमाडौंका नायब सुब्बा ललित झाले पनि मण्डलमार्फत पाठकका लागि पैसा उठाउने कार्य गर्दै आएको खुलेको छ ।
मण्डललाई मधेसी मूलका कर्मचारीसँग पैसा उठाउने जिम्मेवारी दिइएको थियो । उनले पाठकको आडमा जिल्ला मालपोत धनुषामा कार्यरत रहँदा दर्जनौं अनियमित काम गरेको स्रोतले जनाएको छ ।
मण्डलले जनकपुरमा रहँदा विवादित जग्गा पास गराएर लाखौं रुपैयाँ कमाएको पाठक प्रकरणसँग जोडेर अनुसन्धान गरिएका व्यक्तिहरुबाट खुलेको अखितयारको दाबी छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त हुँदा राजनारायण पाठकले घुस उठाउन काठमाडौंको तीनकुनेस्थित एक घरमा ‘स्टेसन’ खडा गरेका थिए । पाठकले निजामती प्रशासनमा रहेका केही व्यक्तिलाई त्यहाँ राखेर विभिन्न व्यक्तिसँग मोलमोलाइ गर्ने र रकम उठाउने गरेको उजुरी अख्तियारमा परेपछि छानबिन सुरु भएको थियो ।