युरो कप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज राति स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । युरो कप फुटबल २०२४ को पहिलो सेमिफाइनलमा मंगलबार स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
सोही खेल जर्मनीमा मंगलबार राति पौने १ बजेदेखि शुरु हुने भएको हो । जारी प्रतियोगितामा युवा बाहुल्य रहेको स्पेन सबै भन्दा बढी गोल गर्ने टिम हो । स्पेनले ५ खेल जित्ने क्रममा ११ गोल गरिसकेको छ । यसबीच स्पेनले २ गोल मात्र बनाएको छ।
फ्रान्सले सेमिफाइनल पुग्ने क्रममा अहिलेसम्म अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । अहिलेसम्म ओपन प्लेमा गोल गर्न सकेको छैन । फ्रान्सले दुई गोल आत्मघाती रूपमा प्राप्त गरेको थियो ।
एक गोल किलियन एमबापेले पेनाल्टीमा गरेका थिए । फ्रान्स सब भन्दा कम गोल बेहोरेर अन्तिम चारमा पुगेको छ । स्पेन चौथो पटक र फ्रान्स तेस्रो पटक युरो च्याम्पियन बन्ने दाउमा रहेका छन् ।
सन् १९६४, २००८,२०१२ मा स्पेन तथा सन् १९८४ र २००० मा फ्रान्स युरो च्याम्पियन बनेका थिए । युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्पेन पुगेको यो छैटौँ पटक हो । जसमध्ये स्पेन अन्तिम चारमा मात्र एक पटक हारेको छ । युरो– २०२० को सेमिफाइनलमा स्पेनले तत्कालीन च्याम्पियन इटालीसँग टाइब्रेकरमा पराजित भएको थियो ।
फ्रान्सले पनि छैटौं पटक सेमिफाइनल खेल्दै छ । फ्रान्से तीन पटक फाइनलमा पुगेको छ । सन् २०१६ को युरो फाइनलमा पोर्चुगलसँग १–० ले हारेको फ्रान्सले सन् २०२२ को विश्वकपमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएको थियो । सन् २०१८ मा भएको विश्वकप भने फ्रान्सले फाइनलमा क्रोएसियालाई पराजित गर्दै जितेको थियो ।
स्पेन र फ्रान्स दुवैले अतिरिक्त समयमा आआफ्ना प्रतिद्वन्द्वीलाई हराएर सेमिफाइनलमा स्थान बनाएका हुन् । फ्रान्स र स्पेनबिच अहिलेसम्म ३६ पटक भिडन्त भएको छ। स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् ।
यद्यपि पछिल्ला आठ खेलमा फ्रान्सले पाँचमा जित हात पारेको छ । स्पेन र फ्रान्सबीचको विजेताले दोस्रो सेमिफाइनल खेल्ने भएका हुन् । इङ्ग्ल्याण्ड र नेदरल्याण्ड्सको विजेतासँग उपाधिका लागि भिड्ने भएका छन् ।